खेलकुद

नेपाललाई खेलकुदले मात्र चिनाएको छः सदस्य सचिव विष्ट

खोटाङ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन् ।

“नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उनले भने, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।”

खोटाङको दिक्तेलमा सोमबार आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अभावै अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको बताए । दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई उपेक्षा गरेसम्म देशको विकास सम्भव नहुने दाबी गरे ।

“खेलकुदबाट युवा अनुशासित बन्छ, स्वस्थ बन्छ, सभ्य बन्छ, कुलतबाट टाढा रहन्छ,” उनले भने, “खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो । खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन ।”

सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतमबुद्धको नामबाट मात्र नभै अब खेलकुदको माध्यमबाट चिनाउनु पर्नेमा जोड दिए । “सगरमाथा निर्माण हामीले गरेका हैनौँ । बुद्ध पनि धेरै पहिले जन्मिएका हुन् ।” उनले भने, “अब हाम्रो पसिना र मेहनतले नेपाललाई विश्वसामु चिनाउनुपर्छ । त्यो खेलकुदबाट मात्र सम्भव छ ।”

“अहिलेको सरकार खेलकुदमैत्री छ,” उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हाल रहेका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने निर्णय गरिएको छ । यो अहिलेसम्मको कुनै पनि सरकारले गरेको थिएन । हामीले सरकारको निर्णयको स्वागत गरेका छौँ ।”