कृषि

कृषि अनुदानमा हुने दुरुपयोग रोक्न विशेष व्यवस्थाः कृषिमन्त्री

जितपुर, कपिलवस्तु । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताएका छन् ।

मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिए ।

आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरमा  आयोजित खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले सिंहदरबारबाट निस्कने अनुदानको रकम बीचमै हराउने रोगको अब अन्त्य गरिने दाबी गरे ।

“मेहनती किसानलाई राज्यले अनुदान दिन्छ, अब त्यो सिधै किसानको हातमा आउने संयन्त्र निर्माण गर्छौं”, कृषिमन्त्री खनालले भने, “किसानको नाममा विगतमा भएका ब्रह्मलुटको अब अन्त्य भइसकेको छ । देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान बिर्सन सकिन्न ।”

मन्त्री खनालले बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिनेसमेत जानकारी दिए । मन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका आधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिनेसमेत जानकारी दिए ।