शिक्षा

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन् ।

मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नं ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका छ वर्षीया छात्रा थिल्ने साङ तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरेका हुन् । विसं २०६८ चैत १९ गते जन्मिएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो ।

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक प्रदान गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेका छन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेका छन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएका हुनन् ।

रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीले भर्ना सप्ताह शुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिएका हुन् ।

प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसकेका छन् ।