पु.समाचार

पृथ्वीनारायण शाहले चम्पादेवीको पूजा गरी उपत्यका विजय गर्न सफलभए..

काठमाडौँ । प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते विशेष मेला लाग्ने दुई हजार २८७ मिटर उचाइमा रहेको चम्पादेवीमा आज बिहानैदेखि भक्तजनको भीड लाग्यो ।

दक्षिणकाली नगरपालिका वडा नं १ मा पर्ने यो स्थानमा महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा पूजिने चम्पादेवीको मन्दिर छ । यहाँ वैशाख १ गते पूजा एवं दर्शन गरेमा वर्षभर रोगव्याध नलाग्ने, सीप, कलाकारिता एवं विद्या बढ्ने, वृष्टि हुने र मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासमा हजारौँ मानिस चम्पादेवीमा मेला भर्न आएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले जनाएको छ ।

देवीको मन्दिरमा शास्त्रीय विधिअनुसार पूजा गरेपछि कीर्तिपुर पर्यटन सूचना केन्द्र, नेवाः एफएम र संस्थाले संयुक्त रुपमा पुष्पलाल उद्यानबाट हाइकिङ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जनक तामाङले  जानकारी दिए ।

उपत्यकामा सागर (ताल) हुँदादेखि नै चम्पादेवीबाट स्वयम्भूको ज्योति दर्शन गर्ने गरिएको जनश्रुति रही आएको स्थानीयवासीको भनाइ छ । सत्य युगमा शिखि बुद्धले वैशाख १ गते नै चम्पादेवी मन्दिर परिसरमा चेलालाई प्रवचन दिएका थिए ।

उपत्यकामा जमेको पानी चोभारबाट काटेर पठाउन आएका मञ्जुश्रीले जेठी श्रीमतीलाई फूल्चोकी र कान्छीलाई चम्पादेवीमा राखेको किम्बदन्तीसमेत छ । हिमाली श्रृंखलाको मनमोहक दृश्य देखिने चम्पादेवी जैविक विविधताका लागि पनि प्रख्यात छ ।

नेपालको एकीकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले चम्पादेवीको विशेष पूजा एवं प्रार्थना गरी उपत्यका विजय गर्न सफलभएको भनाइसमेत रहेको छ ।