स्वास्थ्य

प्यारालाइसिस रोगीलाई सहयोग

तेह्रथुम । हङ्कङमा बस्दै आएका आठराई गाउँपालिका–१, संक्रान्तिबजारका सन्तोष लिम्बूलाई मेरुदण्डको प्यारालाइसिस उपचारका लागि यहाँका नेपालीले आर्थिक सहयोग गरेको छ ।

पत्रकार मनकुमार फोम्बोले मेरुदण्डको प्यारालाइसिसबाट पीडित २२ वर्षीय लिम्बूको उपचारका लागि उनका आमा विष्णुकुमारी लिम्बूलाई रु ५३ हजार ६०० सहयोग रकम हस्तान्तरण गे ।

संक्रान्तिबजारस्थित आयुर्वेद औषधालयको कोठमा रहेका पीडितको उपचारका लागि दिल फोम्बोको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी उक्त रकम सहयोगस्वरुप उपलब्ध गराएको हो ।

वैदेशिक रोजगारीका लागि विसं २०७० मा मलेशिया गएका लिम्बूको काम गर्ने क्रममा ढाड सड्किएपछि शल्यक्रिया गर्दा ढाडको नसा छिनेको र पछि प्यारालाइसिस भएको परिवारले जनाएको छ ।

मलेसियाको सिगेबुल हस्पिटलमा सामान्य शल्यक्रियामा डाक्टरको हेलचेक्राइँका कारण ढाडको नसा छिनाइदिए पछि थलिएको पीडितको भनाइ छ । चार वर्षदेखि प्यारालाइसिसबाट पीडित लिम्बूको अहिले छातीदेखि मुनिका कुनै अंग नचल्ने भएका छन् । लिम्बूको उपचारका लागि हालसम्म रु २८ लाखभन्दा बढी खर्च भइसकेको छ ।

लिम्बूको मेरुदण्डको फेदमा शल्यक्रियाको घाउ अझै निको भएको छैन । नियमित औषधिका लागि मासिक रु ३० हजार खर्च हुन्छ । औषधि खरिदका लागि पनि समस्या रहेको पीडितका परिवारले बताएको छ । सफल उपचारका लागि उनका परिवारले सबैमा सहयोगको याचना गरेको छ ।