पर्यटन/संस्कृति

टोखामा आजदेखि बिस्केट जात्रा शुरु

काठमाडौँ । काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा शुरु भएको छ । प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म गरिने जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ । जात्राका लागि स्थानीय गणेश मन्दिर नजिकैको ठनेलाक्षी चोकमा गत साता लिंगो ठड्याइएको थियो ।

उक्त टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दूर हालेर जात्रा निकालिनुका साथै स्थानीय विभिन्न देवदेवीको पूजा जात्रा अवधिभर गरिन्छ । यहाँको बिस्केट जात्रामा भक्तपुरको जस्तो जिब्रो छेड्ने परम्परा छैन ।

प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरुलाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको जनविश्वास रहेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

उनले जात्रालाई व्यवस्थित र सभ्य बनाउन जात्रा स्थलको आसपास क्षेत्रमा रक्सी तथा मदिराजन्य वस्तु खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको बताउँदै स्वयंसेवकलाई सशक्त बनाइएको बताए ।

यसैबीच स्थानीय सपनतीर्थमा स्नान गर्नका लागि आज यहाँ विशेष मेला लागेको छ । मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको आउने क्रम जारी छ । उनीहरुको व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्थानीय क्लब तथा स्थानीय संघसंस्था क्रियाशील छन् ।

आजको दिन यहाँ स्नान गरेमा कुनै पनि चर्मसम्बन्धी रोग नलाग्ने विश्वास छ । यहाँ प्राचीन समयदेखि सुसंस्कृत मानव सभ्यताको बसोबास रहेको तथ्य फेला परेको बताइएको छ ।