पु.समाचार

अपराधको वैज्ञानिक अनुसन्धान गर्न महानिरीक्षक सर्वेन्द्र खनालको कडा निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै अपराधको वैज्ञानिक तथा परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले आज पदबहालीपछि प्रहरी प्रधान कार्यालय मातहतका अधिकृत तथा जवानलाई सम्बोधन गर्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्। समाजमा शान्ति सुरक्षा कायम गर्दै प्रहरी असहाय नागरिकको साथी बन्नुपर्ने उनको भनाइ थियो ।

संगठनको आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्तिविकास तथा सेवासुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै पेशागत आचरण विपरीत काम गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारवाही गरिने स्पष्ट पारे । अग्रजका राम्रा कामको अनुसरण गर्दै संगठनको छवि अझ उच्च बनाई कर्मचारीबीच आत्मीयता तथा भाइचाराको विकास गरिने समेत उनले बताए ।