पु.समाचार

१२७ हेक्टर सामुदायिक वन अतिक्रमण

नुवाकोट। यहाँको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण बढेको हो । जिल्लाको विभिन्न सामुदायिक वनको ६२ स्थानमा ५३४ घरधुरीले १२७ हेक्टर वनक्षेत्र अतिक्रमण गरेका जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिए ।

“सामुदायिक वन अतिक्रमण गरी आवास तथा टहर निर्माण, विद्यालय स्थापना, खेल मैदान, मन्दिर, सञ्चार सेवा प्रदायक संस्थाको टावर राखिएका छन्,”उनले भने, “हटाउन प्रयास भइरहे पनि अपेक्षा अनुसारको सफलता पाउन सकिएको छैन ।”

वन अतिक्रमण गरी बसेकालाई हटाउन जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बारम्बार ताकेता गरेपनी अवस्था उस्तै रहेको सहायक वन अधिकृत राजकुमार यादवले बताए ।

“वन अतिक्रमण गरी बसेको सूचनाको उजुरी अख्तियारसम्म पुगेपछि हटाउन प्रशासनलाई दिएको आदेशको समेत पालना भएको छैन,” उनले भने, “एउटा ठाउँको अतिक्रमण हटाउन नसक्दा त्यसको प्रभावले अर्को ठाउँमा अतिक्रमण बढ्दै गएको छ ।”
उहाँका अनुसार वनक्षेत्र अतिक्रमण गरी आवास बनाउनेमा सरकारी कर्मचारी समेतको संलग्नता रहेको छ । वन अतिक्रमण भएको स्थानमा सरकारी लगानीमा सडक सुविधा र नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा उपलबध गराएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ‘वन अतिक्रमण नियन्त्रण कार्ययोजना’ बनाएर वनक्षेत्र सुरक्षित बनाउने प्रयास अभियानको रुपमा शुरु भए पनि भूकम्पका कारण प्रभावकारी नहुँदा अतिक्रमण बढ्दै गएको छ । सामुदायिक वन क्षेत्रबाट सडक विस्तार गर्ने र त्यहाँ रुख ढालेर आम्दानी लिने गरेको पाइएकाले त्यसलाई रोक्न विभिन्न सामुदायिक वनलाई ताकेता गर्दै आएको वन कार्यालयले जनाएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई ‘वन ऐन” अनुसार हट्न पत्राचार गर्ने र नहटेमा बल प्रयोग गरी हटाउनसक्ने कानूनी प्रावधान भए पनि त्यसतर्फ वन कार्यालयको भूमिका कमजोर देखिएको छ ।