अन्तर्राष्ट्रिय

जेलबाट भाग्ने क्रममा बीसको मृत्यु

रियो डि जानेरो । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन् ।

कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

मृत्यु भएका १९ जना मध्ये कोही कैदी र कोही उनीहरूका समर्थक भएको पहिचान भएको छ । मारिने एक जना भने सुरक्षा गार्ड रहेका छन् ।

घटनामा परी अन्य चार जना सुरक्षा गार्ड घाइते भएका समाचारमा जनाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

आक्रमणकारीहरूले कारागारको सुरक्षाका लागि खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए ।