पु.समाचार

गुठी संस्थानमा तालाबन्दी

महेन्द्रनगर, धनुषा । जनकपुरस्थित गुठी संस्थान शाखा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठीअन्तर्गतको वीरखकुटीको जग्गामा अवैध घर निर्माण भई रहेपनि रोक्ने तथा नियन्त्रण गर्ने प्रयास गुठीले नगरेको आरोप लगाउँदै स्थानीयवासीले बुधबार तालाबन्दी गरेका हुन् । जनकपुर उपमहानगरपालिका–८ स्थित वीरखकुटीको जग्गामा ५० भन्दा बढी घर निर्माण भइसकेको र अहिले पनि चार घर निर्माणाधीन अवस्थामा रहेका छन् ।

मन्दिर परिसरभित्र घर बनाउनेमा नेतादेखि सामाजिक संघसंस्थाका अगुवा तथा पूर्व तथा वर्तमान प्रहरी अधिकृतसमेत छन् । जनकपुर–८ बलवा टोलका स्थानीय विक्रमकुमार ठाकुरकाअनुसार जिल्ला प्रहरी कार्यालयमा भएको द्विपक्षीय सहमतिमा निर्माण कार्य तत्काल रोक्न निर्णय भएको थियो तर अहिले पनि धमाधम निर्माण भइरहेकाले कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।

गुठी संस्थान, शाखा कार्यालय जनकपुरका प्रमुख मनोज शर्माले कुटीको जग्गामा अवैध रुपमा भइरहेको निर्माण कार्य रोक्न आफूले सक्दो पहल गरिरहेको बताए । दश कोठे पक्की भवन, आकर्षक रामसीताको मन्दिर तथा झन्डै दुई बिघाको घेराबेरासहितको कम्पाउण्ड भएको जनकपुर– ८ स्थित वीरखकुटी अचेल उजाड जस्तै देखिएर मन्दिरको अस्तित्व नै संकटमा परेको देखिन्छ ।