समाचार

परिवारनै अपाङ्ग भएपछि सहयोगको अपेक्षामा कुश्मीदेवी

महोत्तरी । गौशाला ११ की ५५ वर्षीया कुश्मीदेवीकी बाटो छेउमै एउटा सानो झुप्री छ । जसमा पाँच जनाको परिवार बसोबास गर्छन् ।

घरका हरेक सदस्य कुनै न कुनै रुपमा शारीरिक रुपले अपाङ्ग छन् । वर्षौदेखि सोही स्थानमा रहेको ऐलानी (सुकुम्वासी) जग्गामा बसोवास गर्दैआएकी कुश्मीदेवीलाई घरपरिवार चलाउनका लागि आर्थिक रुपमा कठिनाइ भएको छ ।

उनका ६१ वर्षीय श्रीमान् रामनन्दन महराको बायाँ खुट्टा छैन् भने २५ वर्षीय छोरा भिखारीराम मानसिक रुपमा सन्तुलन गुमाएका छन् । त्यस्तै उनकी २३ वर्षीय बुहारी तेतरीदेवी महरा पनि खुट्टाको कारण अपाङ्ग नै छिन् । यता सात वर्षीय नाती पनि मानसिक सन्तुलन गुमाउँदा उनको परिवारमा कमाउने भन्दा बिरामीको संख्या बढी छन् । जसकारण घरजम चलाउन धौधौ परेको छ ।

“एक त महँगीको समय, त्यसमा पनि आर्थिक अवस्था कमजोर र अझै सपरिवार नै अपाङ्गताका कारण कामकाज गर्न नसक्दा घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ ।” भकानिदै कुश्मीले सुनाईन् ।

“उमेर ढल्किसकेपछि अशक्त हुँदा आफूलाई कामकाज गर्न समस्या हुने भएकोले अरुको घरमा मालिस, बनिबुतो र सानातिना कामकाज गरेर संकलित भएको रकमले नै परिवार पाल्दै आएकी छु । ” उनले बताइन् ।

घरको सबै परिवार अपाङ्ग भए तापनि हालसम्म कसैको पनि अपाङ्गता परिचयपत्र छैन, कुश्मीले भनिन्, “मैले अपाङ्गताको परिचयपत्र बनाउनका लागि तत्कालीन भरतपुर गाविसमा गएको तर त्यहाँ कार्यरत कर्मचारीले हामी जस्ता गरिबलाई के वास्ता गर्नु हजुर, बारम्बार गरेको प्रयास बालुवामा पानी खन्याएको जस्तो भयो ।”

लालगढ अस्पतालको निर्माणमा मजदुरी गर्दैगर्दा श्रीमान् रामनन्दनको बायाँ खुट्टामा किला गाडिएपछि उपचारको क्रममा खुट्टा नै काट्नुप¥यो, त्यसपछि घरमा दुःखको सट्टा सुखको खबर कहिल्यै पाउन नसकेको उनले बताईन् ।

घाउ निको भएपछि २०५० देखि सोही अस्पतालमा जुत्ता सिलाएर परिवार पाल्दै आएका रामनन्दनलाई गत वैशाखदेखि अस्पतालले काम दिन छाडेपछि पछिल्लो समयमा आएर आर्थिक अवस्था खस्किँदा पनि सम्बन्धित सरोकारवाला निकाय फर्केर नआएको दुखेसो उनले सुनाए ।