अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

सोल । भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वराष्ट्रपति लि म्युङ बाकलाई सोमबार भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक्ली नै भएको पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

यस विषयमा झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट सो कम्पनीमा उनको संलग्नता र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीहरुले बताएका छन् । लिको कम्पनी डिएएसले उनको प्रभावमा परेर अवैध रुपमा झण्डै तीन करोड २७ लाख अमेरिकी डलर दिलाएको पाइएको छ ।

सन् २०१३ देखि लिले पाँच वर्षसम्म उच्च सरकारी अधिकारीको रुपमा सो कम्पनीलाई सहयोग गर्दै आएका थिए । देशको सबै भन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसुङ ग्रुपसँग उनले ५८ लाख ५० हजार अमेरिकी डलर घुस लिएको न्यायाधिवक्ताको कार्यालयले अरोप लगएको छ ।
सामसुङ कम्पनीका सामानहरुलाई अमेरिका पठाउनका लागि भन्सार राजश्व छुट गराइदिन सो घुस उनले लिएको पाइएको अधिकारीले बताएका छन् । राजनीतिक तथा व्यावसायिक फाइदाका लागि लिले अन्य ठाँउहरुबाट पनि अरु लाखौं डलर घुस लिएको विश्वास गरिएको छ ।

लि राष्ट्रपति भएको बेलाका राष्ट्रपति कार्यालयका तीन हजार चार सय दुई ओटा फाइलहरु नियन्त्रणमा लिइएको छ । ती फाइलहरुमा उनी नै संलग्न भएको अनुमान गरिएको छ । नियन्त्रणमा लिइएका फाइल लिले गरेका अवैध कामसँग सम्बन्धित रहेको बताइएको छ ।

उनीमाथि लगाइएको आरोप पुष्टि भएमा उनलाई कर छली, भ्रष्टाचार, सरकारी स्रोत साधन र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारबाही हुने भएको छ ।