राजनीति

समसमायिक बिषयमा प्रदेशसरकारको ध्यानाकर्षण

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सदस्यले जनआन्दोलनको स्मरण गर्नुका साथै जनताले भोगेका समस्याका सम्बन्धमा आआफ्ना धारणा राखेका छन् ।

शून्य समयमा धारणा राख्दै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भूमिका प्रभावकारी बन्नुपर्ने बताए ।

रामबहादुर गुरुङले भानु नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा व्यास नगरपालिकाको वडा नं ८ र ९ लाई पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

विनोद केसीले म्याग्दीको रघुगंगा नगारपालिकामा गुठीका नाममा जग्गा अतिक्रमण हुने गरेको र त्यसका नाममा जनताले लालपूर्जा प्राप्त गर्न नसकेको उल्लेख गर्दै पीडित भएका जनतालाई सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा धारणा राख्दै प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय महत्वको फेवाताल संरक्षण हुन नसकेको बताउँदै यही क्रम हुने हो भने ३० वर्षमा पुरिने अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

विष्णुप्रसाद लामिछानेले नवलपुरका साविक १७ गाविस भौगोलिक रुपमा पनि विकट भएको बताउँदै जिल्लाका माझी, बोटेलगायत समुदायको जीवनस्तर उँचो बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

मीना गुरुङले महिला दिनप्रतिदिन घरेलु हिंसाबाट पीडित बनेको उल्लेख गर्दै उनीहरुमा न्यायिक अधिकारको प्रभावकारिता बढाउनुपर्ने बताए ।

हरिशरण आचार्यले भूकम्पपीडित सुकुम्बासी आफ्नो नाममा लालपुर्जा नहुँदा घर बनाउन नसकेकाप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

पियारी थापाले भ्रष्टाचारले समाजलाई गाँजेको बताउँदै भ्रष्टाचाररहित समाज निर्माण गरिनुपर्नेमा जोड दिए ।

चन्द्रबहादुर बुढाले जनताका शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधा उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

कृष्णबहादुर थापाले वन विज्ञान संकाय डिन कार्यालय अदालतको आदेशानुसार पोखरामा नै रहने भनिए पनि अझै काठमाडौँबाटै काम भइरहेको बताउँदै अदालतको आदेशलाई सम्मान गरी सो कार्यालयलाई तत्काल पोखरामा सारिनुपर्ने विचार व्यक्त गरे ।