साहित्य

‘नेपाल साहित्य महोत्सव’ सोमबार

काठमाडौँ । यही चैत २६ गते जनआन्दोलन दिवसका अवसरमा गोकर्णमा ‘नेपाल साहित्य महोत्सव’ गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा हुने उक्त महोत्सवमा बहुभाषिक कविगोष्ठी, पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी, विद्यालयस्तरीय सांस्कृतिक, लोक तथा राष्ट्रिय नृत्य, स्थानीय झाँकी प्रदर्शनीलगायत कार्यक्रम गरिने छ ।

महोत्सव व्यवस्थित गर्नका लागि प्रतिनिधिसभा सदस्य कृष्ण राई र प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा ५१ सदस्यीय मूलआयोजक समिति गठन भइसकेको छ ।

समितिका संयोजक राईले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्नका लागि गरिएको आन्दोलनको ऐतिहासिक पक्षलाई स्मरण गरेर हुन लागेको साहित्यिक गतिविधिले विभिन्न समयमा देशमा भएका आन्दोलन र संघर्षका आयामलाई समेट्ने विश्वास व्यक्त गरे ।

पञ्चायती शासनविरुद्ध विसं २०४६ फागुन ७ गते शुरु भएको जनआन्दोलन दुई महिना नबित्दै उत्कर्षमा पुगेपछि चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाइएको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्थापना गरेका थिए ।