राजनीति

आजदेखि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी बिधिवत सञ्चालनमा

बीरेन्द्र कर्ण/वीरगञ्ज । भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गरेपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ ।

नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गे ।

उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना ६ ख ६९३९ नंको पेट्रोल ट्याकरसहित ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् भने नेपालतर्फबाट एनएल ०१ एच ८३८५ नंको मालबाहक ट्रकसहित तीनवटा गाडी भारत भित्रिएका छन् ।

भारत सरकारको रु दुई अर्बको लागतमा निर्माण गरिएको सो आइसिपी अलौ र सिर्सियाको ११५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपाल सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएपछि उपहारस्वरुप आइसिपी बनाइदिएको हो ।

भारतले निर्माण गरिदिएको उक्त आइसिपीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आइसिपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहेका छन् ।

वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय आइसिपीमा स्थानान्तरण हुने भएकाले आयात निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात निर्यात गर्न सक्ने छन् भने सवारीको चापका कारण हुने ट्राफिक चाप हुने छैन र भन्सारमा हुने गरेको चोरी पैठारीमा कमी आउने तथा राजश्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको आंशिक तथा प्राविधिक सहयोगमा सो आइसिपी निर्माण गरिएको हो । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार वीरगञ्ज रक्सौल मार्गबाट हुने भएकाले यो आइसिपीले नेपालको व्यापारमा नयाँ स्फूर्ति ल्याउने विश्वास गरिएको छ ।

एकीकृत जाँचचौकीले नेपाल–भारत व्यापार तथा सम्बन्धमा नयाँ आयाम थप्नुका साथै विराटनगर भैरहवा र नेपालगञ्जमा निमार्णाधीन अवस्थामा रहेको आइसिपीहरुका लागि उदाहरण बन्ने विश्वास भारतीय पक्षले लिएको छ ।

यसअघि नेपाल–भारत सीमामा रहेको मैत्रीपुलको बाटो गरी सामान आउन एक हप्ता लाग्ने गरेकामा अब आइसिपी सञ्चालनमा आएपछि केही घण्टाभित्रै नेपाल आउन सक्ने भएकाले यसबाट नेपाल–भारतबीचको व्यापारमा नयाँ आयाम थपिने विश्वास उद्योगीहरुको रहेको छ ।

नेपालतर्फ अलौ तथा भारततर्फ पन्टोका गाँउलाई छुने गरी निर्माण भएको सो आइसिपीबारे आफ्नो धारणा राख्दै इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले लामो समयको सपना पूरा भएकाले यसबाट ३० प्रतिशत पारवहान खर्चमा कमी आउने विश्वास लिएका छन् ।

भारतबाट आउने मालबाहक ट्रकलगायत सवारी आइसिपीको बाटो गरी सोझै परवानीपुर निस्कने तथा परवानीपुरदेखि आइसिपी हुँदै भारततर्फ जान सक्ने व्यवस्था गरिएको छ ।