राजनीति

प्रजातन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ

काठमाडौँ । प्रजातन्त्र कमजोर हुुँदै गएको भन्दै यसलाई बलियो बनाउनका लागि काँग्रेस बलियो हुनुपर्ने बताइएको छ ।

नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समिति र नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले प्रजातन्त्रलाई कमजोर पार्ने खेल भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताए । “नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ,”– उनले भने ।

काँग्रेस पूर्वकेन्द्रीय सदस्य घर्तीले वाम गठबन्धनका कारण काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेकाले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरे ।

पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले काँग्रेस आन्तरिक कारणले हारेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर काँग्रेसलाई अगाडि बढाउनुपर्ने बताए । पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीले काँग्रेसलाई बलियो बनाउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, काँग्रेस लमजुङका पूर्वपार्टी सभापति तुलसीनारायण श्रेष्ठ, नेता नवराज न्यौपानेलगायतले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।