समाचार

दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय

सुमन घिमिरे/उर्लाबारी, मोरङ । विसं २०६८ चैत २८ गते उर्लाबारी खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि हालसम्म नगरमा एउटै व्यवस्थित सार्वजनिक शौचालय छैन ।

जिल्लामा विराटनगरपछि दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा एउटै व्यवस्थित सार्वजनिक शौचालय नहुँदा नगरका व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ । विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा मुख्य चोकमा एउटा सार्वजनिक शौचालय निर्माण गरिए तापनि हाल जीर्ण छ । सो शौचालयको पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानामा रहेको टिन पनि चुहिन्छ ।
पूर्वी मोरङकै केन्द्र उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु दुःखद् भएको स्थानीय व्यापारी बताउँछन् । मोरङ, रतुवामाई नगरपालिकाबाट व्यापारिक कामले उर्लाबारी आउनुभएका जीवन भण्डारीलाई उर्लाबारी ओर्लनेबित्तिकै पिसाबले च्यायो  तर कतै शौचालय नभेटेपछि बल्लतल्ल एउटा घरमा छिरेर उनले समस्या सुल्झाए । “यति ठूलो नगरमा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु लाजलाग्दो कुरा हो”, भण्डारीले भने ।

तत्कालीन उर्लाबारी गाविस रहेको अवस्थामा खुला दिसामुक्त घोषणा गरिएपछि गाविस र प्लान नेपालको सहयोगमा एउटा घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो । उक्त शौचालय दिनभर सार्वजनिकस्थलमा राखिन्थ्यो तर खुला दिसामुक्त क्षेत्र घोषणा समितिको तीनवर्षीय कार्यकाल सकिएपछि तत्कालीन गाविसलाई घुम्ती शौचालय हस्तान्तरण गरिए पनि गाविसले व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा अहिले बेवारिसे बनेको खुला दिसामुक्त क्षेत्र घोषणा समितिका अध्यक्ष महेन्द्रजङ्ग तामाङ बताउछन् ।

उर्लाबारीमा दैनिक धेरै सवारी साधन ओहोरदोहोर गर्छन् । उत्तरी र दक्षिणी मोरङमा यहाँबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको यहाँ भीड लाग्छ । पछिल्लो समय तीव्र शहरीकरण भएको उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन् । नगरपालिकाले आवश्यक स्थानमा व्यवस्थित सार्वजनिक शौचालय नबनाउँदा बटुवा र लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । नगरको मुख्य चोक, मंगलबारे, आइतबारे, बरगाछीलगायत स्थानमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा समस्या हुने गरेको छ । यो समस्या महिलालाई बढी छ ।

स्थानीय व्यापारी मुना ढकाल भन्छन्, “पुरुषलाई बरु सजिलो छ, हामी महिलालाई सार्वजनिक शौचालयसमेत नहुँदा दिसापिसाबका लागि ठूलो समस्या हुने गरेको छ ।” उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) नगरमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग पहल गरिरहेको बताउछन् । सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग विभिन्न चरणमा छलफल गरिए पनि उपयुक्त जग्गाको अभावमा निर्माण गर्न नसकिएको उनले सुनाए ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो नगरपालिका कार्यालय एउटा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा रहे पनि सार्वजनिक जग्गा नहुँदा समस्या भएको बताउछन् । “मुख्य चोकमा रहेको सार्वजनिक शौचालय पनि संस्थाको जग्गामा रहेकाले व्यवस्थित बनाउन नसकिएको हो”, नगर प्रमुख फागोले भने, “जग्गा प्राप्त हुनेबित्तिकै शौचालय निर्माण शुरु हुनेछ ।”