पु.समाचार

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

रत्ननगर, चितवन । चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो ।

निकुञ्जको विभिन्न सेक्टरले आ–आफ्नो समय मिलाएर गस्ती गरिरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउछन् । दुर्लभ एकसिंगे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो ।

विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

यो उपलव्धिलाई कायम राख्न समेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर राति टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

राति ९ बजेदेखि शुरु हुने गस्ती बिहान ४ बजेसम्म नै चल्नेछ । उनका अनुसार पूर्वी सेक्टरमा मात्रै दुई टोली परिचालन गरिएको छ ।

“तस्करको निगरानी त छुट्टै छ, जंगलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ,” पाठकले भने ।

बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले समेत निशाना बनाउनसक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायतका पाइन्छन् । निकुञ्जको तथ्याँकमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र १२० पाटेबाघ रहेको तथ्याँक छ ।