मनोरञ्जन

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गीत प्रतियोगिता गर्ने

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पाँचौँ पूर्ण बैठकले ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ विषयमा केन्द्रित राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता—२०७५’ आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा सांसद डा विजय सुब्बाको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय, गौशालामा मङ्गलबार बसेको बैठकले स्रष्टालाई राष्ट्रिय गीतका लागि आह्वान गरी १० उत्कृष्ट गीत छनोट गरी सङ्गीतबद्ध गरेर सार्वजनिक गर्ने निर्णय गरेको छ ।

उत्कृष्ट गीतका स्रष्टालाई जनही रु पाँच हजारका साथ सम्मान गरिने बताइएको छ । उक्त प्रतियोगिताको संयोजनको जिम्मा श्याम रिमाल, यशोदा अधिकारी र फूलमान बल तथा सङ्गीत र गायनकार्यको संयोजनको जिम्मा अशोक राईलाई दिने निर्णय भएको छ ।

प्रतिष्ठानका पूर्वाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति, प्रमुख संरक्षक केपी शर्मा ओली प्रधानमन्त्री, सल्लाहकार प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री र प्रतिष्ठानका अध्यक्ष डा सुब्बा सांसदमा छनोट हुनुभएकामा बधाई ज्ञापनका साथ उहाँहरुको सफल र जनमुखी कार्यकालको सफलताका लागि शुभकामना दिइएको छ ।

प्रतिष्ठानका सचिवालय सदस्य तथा प्रतिष्ठानको प्रतीकचिह्न निर्माता कलाकार शान्तकुमार राईको २०७४ असोज ५ गते निधन भएकामा प्रतिष्ठानले दुःख व्यक्त गरेको छ ।