राजनीति

केन्द्र सरकारसँग सहकार्य गरी विकास र समृद्धि हासिल गर्नेछौँः मुख्यमन्त्री गद्दी

पर्सा । परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् ।

वक्ताहरुले २ नं प्रदेशमा रहेका सबल र दुर्वल पक्षको पहिचान गरी नीति निर्माण गरे समृद्ध प्रदेशको परिकल्पनालाई सकार गर्न सकिने बताएका छन् । वक्ताहरुले कृषि, उद्योग व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेकाले कृषिको आधुनिकीकरण, व्यपारमैत्री उदार नीति र धार्मिक पर्यटनको प्रवर्धन सम्बर्धन सँगै प्रचार प्रसार गरिए चाँडै समृद्धि हासिल गर्न सकिने सुझाव दिएका छन् ।

कार्यक्रममा वरिष्ठ उद्योगपति जगदीश आग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आशोक वद्य, प्रदीप केडिया, अशोक टेमानी, गणेश लाठ, उपाध्यक्ष सुबोध गुप्ता, प्राध्यापक आनन्द यादव, उद्योगपति माधव राजपाल, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीलगायतका वक्ताले युवा जनशक्तिको पलायनलाई नरोकेसम्म विकास गर्न नसिकने भएकाले प्रदेशभित्र रोजगारको अवसर सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए ।

वक्ताहरु प्रदेश नं २ मुलुककै मुख्य प्रवेशद्वारका रुपमा रहेको र भौगोलिक रुपले पनि व्यापारको सम्भावना बढी भएकाले लगानी भित्र्याउन व्यापारमैत्री नीति निर्माणदेखि लगानीकर्ताको मुनाफा सुरक्षित हुने वातावरण निर्माण गर्न आवश्यक रहेको विचार व्यक्त गरेका थिए । कृषिलाई आम्दानीयोग्य बनाउन उन्नत बीउ र मूल्यवान् वस्तुको उत्पादन आवश्यक रहेको बताउँदै वक्ताले पूर्वाधार विकास सँगै प्रदेशवासीको सकारात्मक सोच विकास गर्न नीति तर्जुमा गर्न आवश्यक रहेकोे जोडिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले विनियोजित गरिएको विकास बजेटमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरे विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

उनले सरकारले विनियोजित गरेको विकास बजेटमध्ये ७७ प्रतिशत विकास बजेट दुरुपयोग हुँदै आएको अनुसन्धानले देखाएको जानकारी दिँदै मुख्यमन्त्री गद्दीले बजेटको कार्यान्वयन प्रतिशतलाई वृद्धि गर्न सकिए र प्रदेशमा व्याप्त रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सके समृद्धिको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश नं २ कोे विकास नगरी मुलुक समृद्ध हुन नसकिने भएकाले केन्द्र सरकारले पनि यो प्रदेशको विकासका लागि सहयोग गर्ने बताए । प्रदेशको विकासका लागि प्रादेशिक सरकार केन्द्रसँग सहकार्यको नीति अपनाएको बताए ।

कार्यक्रममा प्रदेश नं २ का अर्थमन्त्री विजय यादवले विकासको महत्वपूर्ण आधार भनेको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र उद्योग रहेकाले यसका लागि समानताको नीति आवश्यक रहेको बताए । संघीय सरकारको बजेट समानताका आधारमा विनियोजन हुनुपर्दछ भने।