पर्यटन/संस्कृति

नेपाल वायु सेवा निगमले डेढ वर्षभित्र आठ विमान खरिद गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ ।

निगमले सेवा सुधार्ने कार्ययोजनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी (ए३२०–२००) विमान खरिद गरिने जानकारी दिए ।

नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरिनेछ । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षाको मामलामा अन्तर्राष्ट्रियस्तरमा नै पु¥याउने कार्य प्रारम्भ गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ ।

निगमका अनुसार आउने असारभित्र दुईवटा ‘वाइडबडी’ विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजावाहकले थप दुई ‘न्यारोबडी’ एयरबस जहाजबाट क्षेत्रीय उडान विस्तार गरिनेछ ।

पछिल्लो सयम सन् २०१५ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ए ३२०–२०० सिरिजका दुई विमान खरिद गरेको थियो । विमान थपेर गन्तव्य विस्तार गर्दै निगमलाई बढी नाफा कमाउनेतिर लैजाने योजना अघि सारेको छ ।

निगमलाई सुधार्न विमान थप्नुको विकल्प नरहेको भन्दै गन्तव्य विस्तार र बजारीकरणलाई तीव्रता दिइने महाप्रबन्धक कंसाकारले बताए ।

नयाँ वाइडबढी विमान आएपनि वार्षिक कम्तीमा पाँच अर्बको व्यापार बढ्ने निगमको दाबी छ । सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थप गरेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । जहाज थपिएपछि बाहिरबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा रहेको छ ।

निगमसँग हाल दुई एयरबस ए ३२०–२०० सिरिजका, एक बोइङ ७५७ विमान छन् । यी विमानले विभिन्न आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् ।