आर्थिक

इलामका छ स्थानीय तहमा अझै बैंक स्थापना भएनन

मंगलबारे, इलाम । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।

गाउँपालिकामा जाने भनिएका बैंक नगएपछि गाउँपालिकाले सदरमुकाममै रहेको बैंकमा खाता खोलेर काम गर्दै आएको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये तीन नगरपालिका र एउटा गाउँपालिकामा बाहेक बाँकी छ वटा स्थानीय तहमा कुनै पनि सरकारी तथा निजी स्थापना नगरिएकाले ती निकायलाई आर्थिक कारोवार गर्न समस्या हुने गरेको छ । माई नगरपालिका सन्दकपुर, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा अझै पनि बैंक स्थापना हुन सकेको छैन ।

इलाम, सूर्योदय र देउमाई नगरपालिकामा दर्जनभन्दा बढी बैंक पहिल्यै नै स्थापना भएका छन् भने अहिले पनि स्थापना हुने क्रम जारी छ । चुलाचुली गाउँपालिकामा भने भर्खरैमात्र एनएमबी बैंक स्थापना भएको छ । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ । बैंकको कामकै लागि घण्टौँ धाएर इलाम नगरपालिका धाउनुपरेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

विकास निर्माणको मात्र नभएर स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामा नै गएको छ । तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको कर्मचारीकोे गुनासो छ । बैंक नभएकाले आर्थिक कारोवार गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको समयमा सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने नेताहरुले भने पनि व्यवहारमा उतार्न सकेका छैनन् । दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन गराउन नसक्दा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।