अन्तर्राष्ट्रिय

शान्तिका लागि पोपको आग्रह

भ्याटिकन सिटी । क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गरेका छन् ।

उनले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि सबैसँग आह्वान गरेको समाचारमा जनाइएको छ ।

पोप फ्रान्सिस्ले इष्टर पर्वको अवसरमा दिएको सन्देशमा सिरियामा नरसंहार रोक्न र अरु मध्यपूर्वी देशहरुमा पनि शान्ति स्थापनाका लागि ईश्वरसँग प्रार्थना गरेका छन् ।

उनले कोरियाली प्रायद्वीपमा पनि शान्ति स्थापनाका लागि सबैको प्रयासको अपेक्षा गरिएको बताए । उनले सन्देशमा उक्त क्षेत्रमा पनि शान्तिवार्ताकै माध्यमबाट सबै काम गर्न सकिने कुरा मानवीय रुपमा मनन् गर्न आग्रह गए ।

त्यस्तै उनले आप्रवासी तथा शरणार्थीहरूको समस्यालाई मानवीय रुपमा सोच्न पनि सो सन्देशमार्फत आग्रह गरेको छ । कुनै पनि देशमा जारी द्वन्द्वहरुमा मानवीयताका पक्षलाई ध्यान दिन उनको आग्रह थियो ।

उनले बङ्गलादेशमा रहेका रोहिङ्ग्या तथा आन्तरिक द्वन्द्वको चपेटामा परेका विश्वका अरु पनि देशका आन्तरिक तथा वाह्य शरणार्थीहरुको समस्याहरुको मनन् गर्न सम्बद्ध देश र सरकारहरुलाई आग्रह गरे ।

पोप फ्रान्सिसको सन्देश सुन्न आइतबार साँझ भ्याटिकन सिटीमा रहेको सेन्ट् पिटर्स् स्क्वाएरमा यस धार्मिक समुदायका हजारौँ मानिस भेला भएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।