राजनीति

बिकासका लागि भारतसँग सहकार्य अनिबार्य आवश्यकताः अध्यक्ष यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

संघीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने भएकाले अब नेपालमा संघीयताबाहेकको विकल्प नरेहको बताए ।

उनले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिए । भारत तथा चीनजस्ता दुई ठूला छिमेकी मुलुकसँग आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।

नेपालको विकासका लागि भारतलाई विकासको साझेदारको रुपमा सम्झनुपर्ने बताउँदै अधिकारसम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानून बनाउने अधिकार दिनुपर्ने माग गरे ।

अधिकार सम्पन्न प्रदेश निर्माण भएपछि मात्र प्रदेश विकसित र प्रगतितर्फ अगाडि बढ्ने उनले जिकिर गरे । संविधान संशोधन वा कानून बनाएर भए पनि प्रदेश सरकारलाई अधिकार, शक्ति र स्रोत प्रदान गर्नुपर्ने उनले सुझाव दिए।

सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकाले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गरे ।

यस्तै संविधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा सम्बोधनको सुनिश्चित नभई यथास्थितिमा सरकारमा जान नसकिने उनले प्रस्ट्याए ।