खेलकुद

जय राय जुनियर ब्याडमिन्टनमा नेपालले भाग लिने

काठमाडौँ । इन्डोनेसियामा हुने पम्बइगुन जय राय जुनियर ग्रेन्ड प्रिक्स– २०१८ प्रतियोगितामा नेपालका तर्फबाट ब्याडमिन्टन खेलाडी रुकेश महर्जनले भाग लिने भएका छन् ।

यही चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी महर्जनसहित म्यानेजर विनोद बस्नेतलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले आज यहाँ आयोजित कार्यक्रममा बिदाई गरे ।

अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य श्रेष्ठले ब्याडमिन्टन नेपालको पुरानो खेल भए तापनि अहिलेसम्म ओलम्पिकमा सहभागिता जनाउन नपाएको गुनासो व्यक्त गर्दै यस खेलका माध्यमबाट ओलम्पिकमा सहभागी हुनका लागि स्तरवृद्धिमा सुधार हुने विचार व्यक्त गरे ।

उक्त प्रतियोगितामा करीब २० देखि २५ राष्ट्रले भाग लिनेछन् ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ, मुख्य प्रशिक्षक सुदीप योञ्जन, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।