अन्तर्राष्ट्रिय

रुसी कूटनीतिज्ञ अमेरिकाबाट स्वदेश प्रस्थान

वासिङ्टन । एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ प्रयोग गरेर हत्या प्रयास गरेको भन्ने आरोपमा अमेरिकाले देश निकालाको आदेश दिएका अमेरिकास्थित रुसी कूटनीतिज्ञहरुले वासिङ्टन छोडेको समाचार छ ।

उनीहरु शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।

अमेरिका सरकारले ६० जना कूटनीतिज्ञलाई देश छोड्न भनेको थियो । उनीहरु दुइवटा विमानबाट मस्को जाने कार्यक्रम रहेको रुसी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किँदै गर्दा यता रुसको सेन्ट् पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्ने रुसी सरकारको निर्देशन आएको छ ।

शनिबार नै त्यहाँबाट अमेरिकी झण्डा हटाइएको समाचार पनि रुसी अधिकारीहरुले नै दिएका छन् ।

रुस सरकारले पनि करिब ६० जना अमेरिकी कूटनीतिज्ञलाई आफ्नो देशबाट निकालिने जनाएको छ । यसको जानकारी उसले यसअघि नै दिएको हो ।

उता शनिवारै रुसी विदेश मन्त्रालयले मस्कोस्थित बृटिश राजदूतलाई बोलाएर त्यहाँबाट बृटिश कूटनीतिज्ञहरु पनि हटाउन लागेको जानकारी दिएको थियो ।

बेलायतले रुसी कूटनीतिज्ञहरु हटाएकोले सोही सरह नै आफूहरुले पनि हटाउन खोजेको जानकारी विदेश मन्त्रालयले दिएको बताइएको छ ।

तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् ।

त्यसैगरी अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकोले आफूहरुले पनि सोही बमोजिम नै कामगर्ने रुसको भनाई छ ।