स्वास्थ्य

पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने

कञ्चनपुर । खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गरेका छन् ।

आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क बस्न सकिने र रोग भए नभएको बारे यकिन हुने बताए ।

“क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा पति प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो”, मन्त्री मगरले भने, “उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।”

शिविर सञ्चालन समितिका संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निःशुल्क औषधिसमेत व्यवस्था गरिएको बताए । क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुख र स्तनको अर्बुद हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट बच्न सकिने बताए ।

पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा हुने शिविर १ नं निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा समेत सोमबार र मंगलबार सञ्चालन गरिने छ ।