राजनीति

विवेकशील साझाको प्रदेश ५ संयोजकमा अनुपमान

काठमाण्डौ । विवेकशील साझा पार्टीले प्रदेश नं ५ को संयोजकमा प्रतिष्ठित समाजसेवी तथा व्यवसायी अनुपमान सैंजुलाई चयन गरेको छ।
आज बुटवलमा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापा, प्रदेश ६ र ७ का संयोजक क्रमशः गेहेन्द्र दाहाल र गोपाल हमाल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा सैंजुको नाम सार्वजनिक गरिएको हो।

४८ वर्षीय अनुपमान सैंजु नेपाल जेसीसका निर्वाचित पूर्व राष्ट्रिय अध्यक्ष तथा १२५ देशमा फैलिएको र संसारभरि एक लाख ७० हजारभन्दा बढी सदस्य रहेको अन्तर्राष्ट्रिय जेसीसका निर्वाचित पूर्व उपाध्यक्ष हुन्। उनी आफ्ना बुवा प्रतिष्ठित समाजसेवी गणेशमान सैंजुद्वारा स्थापित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रमका संरक्षक पनि हुन्।

काठमाडौँको लेबोरेटरी स्कुलबाट विद्यालय शिक्षा पुरा गरेका सैंजु स्नातक तहको पढाई पुरा गरेपछि पारिवारिक व्यवसायहरूमा संलग्न भएका थिए। उनी हाल विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा संलग्न छन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सैंजुले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुसी र उत्साहित भएको बताए। उनले पाँच वर्षपछिको निर्वाचनमा विवेकशील साझालाई प्रदेश ५ र समग्र देशको नेतृत्वमा पुर्‍याउन दिलोज्यान दिएर लागि पर्ने उल्लेख गरे।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले सैंजुजस्ता व्यक्तित्व विवेकशील साझा पार्टीको निर्माण तथा उत्थानमा सहभागी हुनु पार्टीका लागि गौरवको विषय भएको बताए। नेता मुमाराम खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय जेसीसजस्ता ठुला सङ्गठनको नेतृत्व गरिसकेका सैंजुले पार्टी सङ्गठन विस्तारमा महत्त्वपूर्ण नेतृत्व प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे।

विवेकशील साझा पार्टीले बाँकी प्रदेशहरूमा पनि सक्दो छिटो प्रदेश संयोजकहरू चयन गर्ने छ।