राजनीति

समृद्ध प्रदेश बनाउने मूख्यमन्त्री पोख्रेलको प्रतिबद्धता

खजुरा बाँके । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुककै उत्कृष्ट, समृद्ध प्रदेश बनाउन पहल थालिएको बताएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि–२ नेपालको छैठौँ नेशनल कन्भेन्सन आज नेपालगन्जमा उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका लागि कृषि, सिँचाइ तथा उत्पादनमुखी क्षेत्रलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गरे ।

उनले भने, “अहिले फजुल खर्च बढेको छ, यसलाई नियन्त्रण गरी भ्रष्टाचारमुक्त समाज बनाउन हामी सबै लाग्नुपर्दछ ।” मुख्यमन्त्री पोख्रेलले नेपाली जनताको आत्मविश्वास बढाउन आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनको साथ हुनुपर्नेमा जोड दिए ।

लायन्स क्लबलाई सामाजिक अभियानको संगठन भन्दै उनले समाजसेवाले हरेक मानिसलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै आपतविपत्को बेलामा लायन्सले आफ्नो पहिचानसहित सहयोगका हात अगाडि बढाउन आग्रह गरे ।

सो अधिवेशनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गभर्नर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथसाथै समाजसेवामा उदाहरणीय काम गरेको बताउँदै आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

सो अवसरमा लायन्सवादको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्वडिस्ट्रिक्ट गभर्नर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलाई सम्मान गरिएको थियो । सो कार्यक्रम शुरु हुनुपूर्व विभिन्न साँस्कृतिक झाँकीसहित वृहद् प्रभातफेरि निकालिएको थियो ।