शिक्षा

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित

राजविराज । माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिए । परीक्षामा मर्यादा विपरित कार्य गरी लापर्वाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताए ।
यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ । यसवर्ष सप्तरीमा नियमित तर्फ आठ हजार ५१४ र एक्ज्याम्टेडतर्फ एक हजार १३ गरी कूल नौ हजार ५९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १२२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।