कृषि

असिनाले करोडौंको तरकारीबालीमा क्षति

फलेवास, पर्वत । केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ ।

जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र नाङलीवाङमा परेको असिनाले रु दुई करोड भन्दा बढी मूल्य बराबरको तरकारी तथा गहुँबाली नष्ट भएको गाउँपालिकाले जनाएको छ ।

उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको पकेट क्षेत्र हो । यो गाउँपालिकाका सयौं कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित छन् ।

यता फलेवास नगरपालिका– ९ भँगरा, वडा नं ८ ठानामौला, वडा नं २ थापाठाना, वडा नं ३ शंकरपोखरी र वडा नं ४ मुडिकुवामा परेको असिनापानीले गहुँ, भर्खरै उम्रिएको मकैलगायत कृषकले व्यावसायिक रुपमा लगाएको तरकारीबाली नष्ट गरेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन् ।

जिल्लाको मोदी, महाशिला, पैंँयू र कुश्मा नगरपालिकामा पनि असिनाले तकारी र अन्नबालीमा सामान्य क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पर्वतमा मगलबारदेखि लगातार रुपमा पानीसँगै असिना पनि परिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लाका अधिकांश भागमा परेको असिनाले ठूलो क्षति पु¥याएको जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँदै उनीहरुलाई आवश्यक राहत प्रदान गर्नका लागि स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

विशेषगरी गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले ठूलो क्षति बनाएको छ भने व्यावसायिक रुपमा तरकारीखेती गरेकालाई धेरै नोक्सानी परेको छ । जिल्लामा कृषि बीमा कार्यक्रममा धेरै कृषक नआइसकेकाले उनीहरुको राहतका लागि सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए ।