समाचार

आत्महत्याका घटनामा न्यूनीकरण गर्न सबैको चासो

तुलसीपुर । दाङमा पछिल्लो समययता आत्महत्याका घटना वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न सबैको चासो र चिन्ता बढेको छ ।

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा आत्महत्याका कारण ६२० जनाको मृत्यु भएकामा ४९।५२ प्रतिशत पुरुष र ४६।९३ प्रतिशत महिला रहेको जिल्ला प्रहरी प्रमुख दुर्गासिंहले जानकारी दिए ।

सबै भन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६३।६ प्रतिशत रहेको छ भने विष सेवन गरेर ३६।१३ आफैमाथि आगो लगाएर, गोली हानेर, हामफालेर मर्नेको संख्या ३।५५ प्रतिशत छ ।

यस वर्षको फागुन महिनासम्ममा १८६ जनाले आत्महत्या गरेका छन् ।
जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर तुलसीपुरमा सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्लाका सरोकारवाला निकायसंग आयाजना गरेको अन्तक्र्रियात्मक जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताले पछिल्लो समयमा आत्महत्या बढदै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका छन् । उनीहरुले व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले मानसिक तनाब भएर धेरैजसोले आत्महत्या गर्ने गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिंदै भने, ‘‘मानिसले घाँटी हेरी हाड निल्नुपर्छ, असलमात्र होइन सफल सिक्न र सिकाउनुुपर्छ ।”

उनले असमान्ताका कारण पनि यस्ता घटना हुने भन्दै सबैलाई सामाजिक समानता कायम गर्नपनि आग्रह गरे । संघीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले व्यक्तिमा कमजोर मानसिकता तर उच्च महत्वकांक्षा बढेका कारण त्यो पूरा नहुँदा निराश भएर आत्महत्या हुने भन्दै आत्मबल बढाउने क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

चिकित्सक मुरलीमनोहर रौनीयारले भने, “मानसिक तनाबकै कारण आत्महत्या हुने भएकाले यस्ता व्यक्तिलाई समयमै मानसिक उपचार र जीवनबारे बुझाउन सकिएमा आत्यहत्याका घटनामा कमी आउँछ ।”
प्रहरी उपरीक्षक दुर्गा सिंहले मानसिक तनाबमा भएका व्यक्तिले आफ्नो मन बुझाउन नसक्दा आत्महत्याका घटना बढ्ने गरेकाले सम्बद्ध व्यक्तिले यसमा चासो दिनुपर्ने उल्लेख गर्दै आत्महत्या गर्न उस्काउनेलाई कारबाही हुने कानून आउन लागेको बताए ।
सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेले आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम विभिन्न विद्यालय, गाउँ टोलमा लैजान पर्ने र यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।