पर्यटन/संस्कृति

महावीर जैनको जन्मोत्सवमा प्रभातफेरी

काठमाडौँ । जैन धर्मका संस्थापक महावीर जैनको २६१७ औँ जन्मोत्सवका अवसरमा आज प्रभातफेरी गरिएको छ ।

नेपाल जैन परिषद्ले आयोजना गरेको उक्त कार्यक्रम कमलपोखरीबाट शुरु भई भगवती बहाल, नक्साल हुँदै त्यस वरपर क्षेत्रको परिक्रमा गरी पुनः जैनभवनमा आएर समापन गरिएको थियो ।

जि धातुबाट जीन शब्द बनेपछि त्यो विकास हुँदै जैन धर्म भएको धर्मावलम्बी बताउँछन् । जैन धर्ममा मनलाई जित्नुपर्ने दार्शनिक मान्यता छ, यस धर्ममा २४ वटा गुरु थिए जसलाई तीर्थंकर भनिन्थ्यो । अन्तिम गुरु महावीर जैन हुन् । छैटौँ शताब्दीदेखि उक्त धर्मले प्रचारप्रसार पाउन थालेको विश्वास गरिन्छ । जैन धर्म श्रवण परम्पराबाट उब्जेको धर्म अनि दर्शनका रुपमा लिइएको छ ।

शान्ति अहिंसाको मार्गबाट नैतिकताको विकास गरी समाजको प्रगति गर्ने मान्यताको विकास गरेका महावीरको स्मरणमा आज विभिन्न कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।