आर्थिक

शेयर दलाल कम्पनी खुलेपछि कारोबार सहज

चितवन । गीतानगरका ध्रुवराज पोखरेल कुनै बेला बिहान काठमाडौँ गएर शेयर कारोबार गरेर साँझ घर फर्के । उनले स्मरण गरे “दलाल कम्पनी थिएनन्, बाहिर उभिएर हामी कारोबार गथ्यौँ । बिहान चार/पाँच बजेतिर माइक्रो बस चढ्यो भने ११ बजे काठमाडौँ पुगिन्थ्यो । मध्याह्न १२ बजेदेखि तीन बजेसम्म शेयर कारोबार हुन्थ्यो । त्यसपछि गाडी चढेर घर आइन्थ्यो ।”

अहिले पोखरेलको घरबाट आठ किलोमिटरको दूरीमा रहेको नारायणगढ बजारमा तीनवटा दलाल कम्पनी छन् । विसं २०६७ मा पहिलो दलाल नं २९ ले नारायणगढमा शाखा खोल्यो । त्रिशूल सेक्युरिटिजले शाखा खोलेसँगै नारायणगढमा नै कारोबार शुरु हुन थाल्यो । त्यसको छ वर्षपछि दलाल नं ४२ को शनि सेक्युरिटिजले नारायणगढमा अर्को शाखा खोल्यो ।

छ महिना अघि दलाल नं ५१ को अक्सफोर्ड सेक्युरिटीजले यहाँ शाखा खोल्यो । यससँगसँगै शेयरको कारोबार गर्नेको संख्या बढेर गएको छ । घरका गृहिणीदेखि बिरामी जाँच्ने डाक्टरसम्म प्रत्यक्ष र अप्रत्यक्षरुपमा शेयर कारोबारमा संलग्न छन् । अवकाश प्राप्त शिक्षक र कर्मचारीको संख्या बढी छ भने अन्य सबै पेशाका व्यक्ति शेयर कारोबारमा संलग्न छन् ।

त्रिशूल सेक्युरिटीजका शाखा प्रबन्धक कौशल श्रेष्ठ दैनिक २०० जनाको हाराहारीमा कारोबार गर्न आउने बताउछन् । सरदर कारोबार रु ४५ लाख हाराहारी भएको भन्दै उनले छिमेकी जिल्लाबाट पनि कारोबार गर्न आउने गरेका बताए । बुटवल र भैरहवाबाट आउने उतै कारोबार गर्न थाले पनि नवलपरासी र हेटौँडाबाट समेत कारोबार गर्न आउने गरेका उनले बताए ।

शनि सेक्युरिटीजका शाखा प्रबन्धक उज्वलराज पौडेलका अनुसार ५०/६० जना दैनिक कारोबारमा आउने गर्दछन् । नजिकमा सेवा पाउँदा उनीहरु खुशी भएको भन्दै उनले बजारमा शेयर कारोबार उच्च हुँदा व्यापार पर्याप्त हुने गरेको बताए । नजिक कारोबार गर्न पाउने भएपछि नयाँ कारोबारी थपिएको पौडेलको भनाइ छ ।

उनले भने “अहिले गृहिणी पनि शेयर कारोबारमा लागेका छन् ।”

अक्सफोर्ड सेक्टुरिटीजका शाखा प्रबन्धक विकास तिवारीले २० जनाको हाराहारी नियमित कारोबार गर्न आउने गरेका बताए । उनले जिल्लामा कार्यालय खुलेपछि पुराना व्यवसायी र नयाँ कारोबार गर्न चाहनेलाई सहज भएको बताए ।

भरतपुर महानगरपालिका–५ विकास चोकका शिव पौडेलले चार वर्षयता निरन्तर रुपमा नारायागढमा शेयर कारोबार गरिरहेका छन् । विसं २०६४ बाट आफूले कारोबार शुरु गरेका पौडेलले आफू ६ वर्ष दुबईमा रहँदा विभिन्न माध्यमबाट कारोबार गरेको बताए । उनले लामो समयका लागि शेयर राख्ने र छोटो समयमा किनबेच गर्दै आएको बताए । सो कारोबारका कारण जीवनयापन सहज भएको उनको भनाइ छ । रु चार करोडदेखि रु पाँच करोडसम्म शेयर राखेर बस्नेको संख्या चितवनमा ठूलै छ ।

बजार घटबढ भइरहने भन्दै उनले तर अहिले शेयर घट्दै गर्दा जुनसुकै गतिविधि हुँदा पनि यसको प्रभाव शेयरमै गएर ठोक्किएको बताए । पौडेलले भने “शेयर जसरी ओरालो लागेको छ, त्यसैगरी माथि उठ्छ, सबैले सरकारले बोल्दियोस् भनिरहेका छन् ।” आफूले बिबिएस पढ्दा पाठ्यक्रममा शेयरको बारेमा पढेपछि यसतर्फ आकर्षित भएको भन्दै स्थानीय बजारमा कारोबार गर्न पाएपछि सहज भएको बताए ।

भरतपुरका दीपक दाहालले पनि चार वर्षदेखि शेयर कारोबार गरिरहेका छन् । त्यस अघि अष्ट्रेलियामा रहँदा पनि शेयर कारोबार गरेको उनले बताए । अरु कामभन्दा तनावरहित काम शेयर भएको उनले बताए । शेयरबाट स्वच्छ प्रतिफल आउने दाहाल बताउछन् । उनले भने “समय र बजार चिन्यो भने राम्रो कारोबार गर्न सकिन्छ ।”

मार्जिन ल्याण्डङ र अनलाइन कारोबार भए अझै सहज हुने भन्दै उनले यही कारोबार नभएको भए आफूले काठमाडौँ गएर पनि कारबार गर्न सक्ने बताए । अहिले यही कारोबार भएपछि घरको खाना खाएर शेयर कारोबार गर्न पाएको दाहालको भनाइ छ ।

बजार घट्ने बढ्नेलाई ठूलो रुपमा लिन नहुने भन्दै उनले यो नियमित प्रक्रिया भएको बताए । दाहालले भने “शेयरबाट नराम्रो हुन्छ भन्ने छैन ।”