स्वास्थ्य

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो ।

सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७२१ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ ।

वडाका घरघरमा लगत संकलन गरेर खोप लगाउन छुटेकालाई समेत सो अवधिमा खोप लगाइएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर नगरपालिकालाई छ वटा स्वास्थ्य संस्थासमेत मंगलबार नै हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिए । यसरी हस्तान्तरण गरिएकामा पिठ्वा स्वास्थ्य चौकी, बछौली स्वास्थ्य चौकी, पञ्चकञ्या स्वास्थ्य चौकी छन् ।

यस्तै टरौली, नरकटिया र जिरौना शहरी स्वास्थ्य केन्द्रसमेत आजै नगरपालिकालाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिए ।

सो क्रममा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले पूर्ण खोप घोषणा गर्ने काम महत्वपूर्ण भएको भन्दै स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको औँल्याए ।

पूर्ण खोपयुक्त नगर घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वयंसेविकालाई मंगलबारै कदरपत्रसहित सम्मान गरिएको थियो । अब चितवनको कालिका नगरपालिका र भरतपुर महानगर पूर्ण खोप घोषणा हुन बाँकी छ ।