समाचार

कृति स्मृति वृत्ति सम्मान प्रतिकलाई, पोखरा पत्रकारिता

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित एवं उद्योगपति सूर्यबहादुर केसीका परिवारबाट स्थापित यसवर्षको ‘कृति स्मृति वृत्ति सम्मान’ प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतिकलाई प्रदान गरिने भएको छ ।

त्यस्तै ‘पोखरा पत्रकारिता पुरस्कार’ कार्टुनिष्ट दुर्गा बराल वात्सायन र संस्थागततर्फ ‘पोखरा पत्रकारिता सम्मान’ पोखरा लेखनाथ महानगरपालिकालाई प्रदान गरिने भएको छ ।

विसं २०३१ मा मातृभूमि साप्ताहिक काठमाडौँबाट पत्रकारितामा प्रवेश गरेका प्रतिकले आह्वान साप्ताहिक, सगरमाथा दैनिक, जनआस्था साप्ताहिक र हिमदूत दैनिकमा काम गरिसकेका छन् ।

पोखरा हटलाइन दैनिकको संस्थापक सम्पादक प्रकाशक रहेका प्रतिक हाल प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।

पत्रकारिता विषयका प्राध्यापक एवं साहित्यिक क्षेत्रमा क्रियाशील उनका तीनवटा उपन्यास समेत प्रकाशित भइसकेका छन् । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ नगद छ । यसअघि वरिष्ठ पत्रकार युवराज घिमिरे उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको पोखरा पत्रकारिता पुरस्कार २०७२ बाट कार्टुनिष्ट दुर्गा बराल वात्सायनलाई पुरस्कृत गरिने भएको छ । व्यङ्ग चित्रको माध्यमबाट पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानस्वरुप उनलाई पुरस्कृत गर्न लागिएको हो ।

बरालका कार्टुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित छन् । उनी हाल कान्तिपुर दैनिकमा आवद्ध छन् । उक्त पुरस्कारको राशि रु ३५ हजार एक रुपैयाँ छ ।

त्यस्तै पोखरा पत्रकारिता पुरस्कार अन्तर्गत पोखरा पत्रकारिता सम्मान २०७४ बाट पोखरा लेखनाथ महानगरपालिकालाई सम्मान गर्ने निर्णय गरिएको छ ।

दुबै पुरस्कार तथा सम्मान यही चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।