समाचार

महिलाजस्तै पुरुष स्वयंसेवक

ललितपुर । राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् ।

महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए । तीन दशक पहिले विषमज्वर र हैजा फैलिए पनि महिला स्वास्थ्यकर्मी घर घरमा पुगेर जनचेतना फैलाउन सक्ने अवस्था थिएन ।

उनी भन्छन्, “अहिले पनि कतिपय स्वास्थ्य समस्यामा परामर्श हामीले गर्छौंँ ।” पुरुषका स्वास्थ्य समस्या समाधानमा पुरुष स्वास्थ्यकर्मी लाग्ने गरेका छन् ।

जिल्लामा १०० पुरुषसहित झण्डै ६०० स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये १३३ महिला स्वास्थ्य स्वयंसेविकाले मात्रै मान्यता पाएका छन् ।

जिल्लामा यति लामो समयसम्म काम गर्दा समेत जिल्लाले र सरकारले पुरुष पनि स्वयंसेवक हुन्छन् भनेर नमानेको उनी बताउछन् । उनी भन्छन्, “हामीलाई मान्यता दिए काम गर्न प्रोत्साहन हुने थियो ।”