कृषि

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

रामपुर, पाल्पा । एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो । अहिले चैते धान रोप्न छाडिएपछि कृषक फुर्सदिला बनेका छन् ।

चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुनथालेपछि पछिल्लो समय चैते धान लगाउन छाडिएको छ ।

सिँचाई सुबिधा पुगेका स्थानमा कृषकले अनिवार्य चैते धान रोप्ने चलन थियो । हिजोआज भने सिँचाइ भएका स्थानमा समेत चैते धान रोप्न क्रमशः घट्दै गएको छ । शहर उन्मुख हुदै गरेका नगरपालिका तथा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य भूमि खरिद गरी प्लटिङ गर्न थालेपछि खेती गर्न छाडिएको हो ।

सिँचाइको सुविधा भएको पूर्वखोला फाँटभरी नै चैते धान रोप्ने र यहीँ धानबाट वर्षदिनसम्म खान पु¥याउने गरेका कृषकले हिजोआज भने कमै मात्रामा धान रोप्ने गरेको पाइन्छ । गाउँबाट पढाई, रोजगारको शिलशिलामा युवा जनशक्ति शहरतिर पस्न थालेपछि सिँचाइ सुविधा पुगेपनि खेती गर्न समस्या भएको स्थानीयवासी माया थापा बताउछन् ।

धान उत्पादनको पकेट क्षेत्र रहेको रामपुर फाँटका विभिन्न खेतमा सिँचाई सुविधा पुगेपनि अहिले चैते धान लगाउन कृषकले छाड्दै गएका छन् । खेतीयोग्य जमिन घट्दै गएको छ । कृषक सुख सुविधाभोगी हुनथालेपछि चैते धान खेती गर्ने परम्परा हट्दै गएको स्थानीयवासी गंगाराम सुनारले बताए ।

जिल्लामा आठ सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले जानकारी दिए । हिजोआज भने सिँचाइको समस्याले क्रमशः वर्षेनी चैते धान खेती गर्न छाडिदै गएको उनको भनाइ छ । जिल्लामा स्थानीय चैते २, चैते ३ र हर्दिनाथ जातको धान लगाउने गरिएको छ ।

असारमा लगाएको धानको तुलनामा चैतमा लगाएको धानको चामल बढी पर्ने गरेपनि कामदार अभाव, खेतीयोग्य भूमी घर घडेरीमा परिणत, सिँचाइको पर्याप्त सुविधा नुहुनुलगायत कारणले उत्पादनको क्षेत्रफल घट्दै गएको पाइएको छ । खरिद गरेर खाने प्रवृत्ति बढेकोले चैते धान हराउँदै गएको कृषि प्राविधिकहरु बताउँछन् ।

चैते धान चिउराको प्रयोजनका लागि अत्यन्त राम्रो मानिन्छ । यसको व्याड तयार गर्न सजिलो नहुने, वर्षे धानको व्याडको तुलनामा चैते धानको व्याड उतार्न अत्यन्त कठिन, मौसम, तापक्रम राम्रो नभए बीउ नउम्रनेजस्ता समस्याले गर्दा धेरैले खेती गर्न छाडेको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मीले बताए ।