आर्थिक

मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना

काठमाडौं । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।

मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए । प्रहरी नायब उपरीक्षक मरासिनीले पूर्वाधारको अभावमा ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्ने भनाइको खण्डन गरे ।

‘सडक दुर्घटना र अव्यवस्था सडक फराकिलो नभएर होइन । सडक खराब भएर पनि होइन । वा फ्लाइओभर नभएर मात्र पनि होइन । यी समस्या सडक संस्कृति नभएर हो । काठमाडौंमा भन्दा पनि धेरै गुणा गाडी भएका सहरमा पनि राम्रो ट्राफिक व्यवस्थापन छ,’ उनले भने ।

उनले नेपालमा हरेक वर्ष सडक दुर्घटनामा दुई हजार जनाको मृत्यु भइरहेको र अघिकांश दुर्घटना सवारी नियमको उल्लंघनबाट हुने पनि बताए । कार्यशालापछि मिस नेपाल प्रतियोगीलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रमको प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।

मिस नेपाल प्रतियोगीले बाँडे मास्क
मिस नेपालका प्रतियोगीहरु शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले काठमाडौंका त्रिपुरेश्वर, थापाथली, जमल र बानेश्वरमा सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए ।

त्यसअघि मिस नेपाल प्रतियोगीहरुलाई मिस नेपाल २०११ मलिना जोशीले मिस नेपाल प्रतियोगीसँग आफ्नो मिस वल्र्ड यात्राबारे अनुभव साटेकी थिइन् । ‘कुनै पनि प्रतियोगितामा भाग लिनु जित्नका लागि भए पनि अरुलाई हराउनका लागि पक्कै होइन,’ उनले भनिन् ।

उनले उपाधि जिते वा हारे पनि मानिसहरुले आलोचना गर्ने परिपाटी भएको र त्यसबाट आफू विचल्लित हुन नहुने बताइन् । ‘मानिसहरुले जे पनि भन्छन् । तर आफू भित्रैदेखि बलियो हुनु पर्छ । आफ्नो मनको शान्ति सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भनिन् ।

‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवात शनिबार नै ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । मिस नेपालका २५ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट मिस नेपाल २०११ मलिना जोशी, प्रख्यात फेसन डिजाइनर मनिष राई र एमएडब्लुकी डाइरेक्टर तुलिका अग्रवालको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुनेछ ।