शिक्षा

शिक्षा क्षेत्रले दक्ष जनशक्ति उत्पादन गर्न केन्द्रित हुनुपर्छ : मूख्यमन्त्री

उर्लाबारी, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

आज उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सामुदायिक क्याम्पसले भौतिक पूर्वाधार तथा शैक्षिक र आर्थिक सुधार गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

हाल प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउनुहुँदै मुख्यमन्त्री राईले त्यसपछि नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने बताए । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने उद्घोष गरे ।

मुख्यमन्त्री राईले जनताले चाहेको समृद्धिको चाहना अब पूरा गर्नुको विकल्प नरहेको बताउनुहुँदै तीनवटै तहका सरकारबीच सहकार्य गरेर समृद्धि र विकासको बाटोमा अघि बढ्नुपर्छ भने । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मानबहादुर फागो, गंगाप्रसाद बाँस्तोला, दुर्गाप्रसाद भट्टराई, जीवनाथ लुइँटेल, शिवप्रसाद ढकाल र तेजेन्द्र दुलाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।