शिक्षा

नगरपालिकाबाट विद्यालय समायोजन

रोल्पा । नगरपालिकाले नगर शिक्षा ऐन पारित गरी कार्यान्वयन गर्न लागेको छ । ऐन पारित भएसँगै नगर क्षेत्रभित्रका विद्यालयको दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रियाको थालनी गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका ११ विद्यालय अन्य विद्यालयमा समायोजन गर्ने भएको छ । सोअनुसार १ देखि ५ कक्षा सञ्चालन भएका छ विद्यालयले शैक्षिकसत्र २०७५ देखि कक्षा ४ र ५ मा भर्ना लिन नपाउने भएका छन् ।

उनीहरुले अब कक्षा १–३ को मात्रै पठनपाठन गर्न पाउने भएका छन् । यसैगरी कक्षा १–३ सञ्चालन भएका पाँच विद्यालयमध्ये एक विद्यालयका सबै कक्षा र चार विद्यालयका २–३ कक्षाको भर्ना लिन नपाउने गरी नजिकको विद्यालयमा समायोजनका लागि प्रस्ताव गरिएको स्रोत व्यक्ति लोककुमार श्रेष्ठले जानकारी दिए ।

नगर क्षेत्रका ११ शिक्षक दरबन्दीसमेत मिलान गरिएको छ । “विद्यार्थी संख्या कम भएका विद्यालयबाट बढी संख्या भएका विद्यालयमा दरबन्दी मिलान गर्ने गरी प्रस्ताव गरेका छौँ”, नगर शिक्षा समितिका संयोजकसमेत रहेका नगर प्रमुख पूर्ण केसीले बताए । शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन लामो समयदेखिको समस्या भएको बताउँदै यसको व्यवस्थापनसँगै नगर क्षेत्रको शैक्षिक सुधारमा सहयोग पुग्ने केसीले आशा व्यक्त गरे ।

विद्यार्थीलाई विद्यालय जाँदा लाग्ने समय तथा शिक्षक विद्यार्थी अनुपातलाई आधार मानी विद्यालय समायोजन तथा दरबन्दी मिलान गरिएको प्रमुख केसीले बताए । “नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको भेला गरी सो प्रस्ताव गरेका छौँ”, उनले भने, “केही दिनपछि बस्ने नगर शिक्षा समितिको बैठकले प्रस्ताव कार्यान्वयन गर्छ ।” नगरपालिकाको विद्यालय समायोजन र दरबन्दी मिलानले लामो समयदेखि सञ्चालनमा रहेका विद्यालय समायोजन भई अन्य विद्यालयमा जाने भएका छन् ।