स्वास्थ्य

स्वदेशमा उत्पादित औषधि प्रयोग गर्नुपर्नेमा जोड

काठमाडौँ । चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताए । “अस्तव्यस्त भएको स्वास्थ्य क्षेत्रलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुनेछ,”– उनले भने ।

राज्यमन्त्री अर्यालले हरेक क्षेत्रको समृद्धिले मात्र मुलुकको समृद्धि हुने हुँदा स्वास्थ्य क्षेत्रलाई समेत समृद्ध बनाउनुपर्ने बताए ।

सांसद अन्जना विसंखीले प्रविधिको प्रयोगसँगै चिकित्सकको भूमिकामा सहजता आएको भन्दै उचित प्रविधिको प्रयोग गरी बिरामीलाई निको पार्न डाक्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा उत्पादित औषधिलाई प्रयोग गरेमात्र मुलुक समृद्ध हुने बताए ।

हाम्रो डक्टर अनलाइनका प्रधानसम्पादक उद्धवराज भेटवालले प्रविधिको विकाससँगै हाम्रो डक्टर अनलाइन तथा पत्रिकालाई अगाडि बढाउँदै गएको बताए । दुई वर्ष पहिले मल्टिमिडियाको रुपमा समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको ‘हाम्रो डक्टर’ अनलाइनमा २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण र ३०० भन्दा बढी अस्पतालको विवरण उपलब्ध गरिएको हाम्रो डक्टर मासिकका प्रकाशक मधुसुदन ढकालले जानकारी दिए ।