पर्यटन/संस्कृति

विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन शुरु

काठमाडौँ । विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चर : माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।

नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको आज यहाँ आयोजित एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गर्दै नेपालको साहसिक पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने बताए।

अनुपम पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकासका लागि बोर्डले अन्तर्राष्ट्रिय प्रचारप्रसारलाई तीव्रता दिने उल्लेख गरे ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ र संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनार्थ सम्मेलन सहयोगसिद्ध हुने बताए।

विश्व पर्वतारोहण महासंघका उपाध्यक्ष पिटर फेर्कसले जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रलाई बचाउन र साहसिक पर्यटनबारे सकारात्मक सन्देश प्रभाव गर्न सबैको ध्यान जानुपर्ने खाँचो औँल्याए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णीकारले नेपाललाई विश्वकै साहसिक केन्द्र ‘एडभेन्चर हब’ बनाउने उद्देश्यले आयोजित सम्मेलनले साहसिक पर्यटनलाई सवल, सक्षम र थप प्रभावकारी बनाउन कोशेढुंगासावित हुने बताए ।

तीनदिने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ४२ वक्ता र २५० जना पाहुना सहभागी छन् । सम्बन्धित क्षेत्रका विज्ञहरुको कार्यपत्र प्रस्तुति रहनेछ भने पर्वतीय पर्यटनको चुनौती, व्यावसायिक सम्भावना र आगामी रणनीतिबारे छलफल हुनेछ । झण्डै तीन हजार सर्वसाधारणले सम्मेलनको अवलोकन गर्ने प्रक्षेपण गरिएको छ ।

करिब १५० जना अन्तर्राष्ट्रिय बायर्स (क्रेताको) उपस्थिति तथा वस्तु किन्ने वचनबद्धता रहेको आयोजक संस्थाले जनाएको छ । नेपाल, भारत, चीन, अफगानिस्तान, अमेरिकालगायत मुलुकको सहभागिता रहेको सम्मेलनमा तीन मुख्य विषय साहसिक खेल, साहसिक पर्यटन तथा वातावरण विषयमा विशेष छलफल हुने जनाइएको छ ।

सम्मेलन आयोजनास्थल होटल याक एण्ड यति परिसरमा साहसिक पर्यटनसम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको छ । साहसिक पदयात्रा, ट्राभल एजेन्सी र साहसिक पर्यटन खेलसँग सम्बन्धित करीब ३५ कम्पनीको सहभागिता छ । पर्वतारोहण र पदयात्रामा जाने सामग्री तथा साधनको प्रदर्शनी गरिएको छ ।