स्वास्थ्य

प्राविधिक नहुँदा नौ वर्षदेखि थन्किए एक्स–रे मेसिन

प्रकाश धौलाकोटी/तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा एक्स–रे मेसिन छन् । तर केन्द्रमा अहिलेसम्म न त दक्ष प्राविधिकको दरबन्दी छ, न त तालीमप्राप्त कर्मचारी नै । प्राविधिक नहुँदा केन्द्रमा रहेका दुईवटा एक्स–रे मेसिन प्रयोगमै नआई थन्किएका छन् ।

स्वास्थ्य केन्द्रमा नौ वर्षअघि स्वास्थ्य सेवा विभागले दिएको एक्स–रे मेसिन प्रयोगमै नआई बिग्रिएको छ । यो वर्ष पुनः विभागले मेसिन पठाएको छ, तर प्राविधिक भने पठाएको छैन ।

“स्वास्थ्य सेवा महाशाखाले विसं २०६५ मा पठाएको एक्स–रे मेसिन प्रयोगविहीन अवस्थामा थन्किएका बेला अर्को मेसिन आयो तर प्राविधिक कर्मचारी आएनन्, यहाँबाट पनि व्यवस्थापन गर्न सकिएन” व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमल माबोले भने । मेसिन भएर पनि प्रयोगमा नआउँदा यहाँका तीन गाउँपालिकाका बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।

स्वास्थ्य सेवाको व्यवस्थापन समेत स्थानीय तहको जिम्मामा छ । तर केन्द्रमा रहेका एक्स–रे मेसिन सञ्चालन गर्न आठराई गाउँपालिकाले कुनै चासो देखाएको छैन । संक्रान्ति बजार आठराई र फेदाप गाउँपलिका तथा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको समेत व्यापारिक केन्द्र हो ।

विद्युत्को समस्या भएपछि स्थानीयवासीले नगद संकलन गरेर पाँच किलोवाटको जेनेरेटरसमेत खरिद गरेर केन्द्रलाई उपलब्ध गराएका थिए ।

दुई वर्षअघि नै जेनेरेटर उपलब्ध गराए पनि अहिलेसम्म एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन । छ महिनायता संक्रान्ति बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत् समेत जडान भइसकेको छ । ‘‘पहिले प्राविधिक थिएनन्, त्यतिबेला प्रयोगमा आएन, पछि तालीम लिएका प्राविधिक आए, विद्युत्ले समस्या भयो भनेपछि हामीले जेनेरेटर खरिद गरिदियौँ,’’ स्थानीयवासी भोलानाथ काफ्ले भन्छन्, “अहिले जेनेरेटर पनि छ, केन्द्रीय प्रशारणको विद्युत् पनि छ, तर एक्स–रे सेवा उपलब्ध छैन ।”

भरपर्दो स्वास्थ्य सेवा व्यवस्थापनमा सम्बन्धित् निकायको ध्यान नपुगेको उनले गुनासो गरे । मेसिन सञ्चालन गर्न आवश्यक पूर्वतयारीका लागि कसैले पनि चासो नदिएकाले एक्स–रे मेसिन त्यतिकै थन्किएको केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् ।

मेसिन चलाउन दक्ष प्राविधिक नहुँदा मेसिन सञ्चालनमा समस्या भएको केन्द्रका मेडिकल अधिकृत डा सन्तोष शाहले बताए । “हामीसँग एक्स–रे उपकरण छन्, तर चलाउन सक्ने दक्ष प्राविधिक छैनन्, त्यसैले दुईवटा मेसिन त्यतिकै थन्किएका छन्” उनले भने ।

उनका अनुसार स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाले गत साउनमा नयाँ मेसिन उपलब्ध गराएको हो । एक्स–रे सञ्चालनका लागि छुट्टै कक्षसमेत छैन । अहिले सो कक्ष निर्माणका लागि पहल भइरहेको उनले बताए ।

एक्स–रे मेसिन भए पनि प्राविधिक नहुँदा आठराई क्षेत्रका सेवाग्राही एक दिनको पैदलयात्रा गरेर पाँचथर सदरमुकाम फिदिम हुँदै झापा, मोरङ र सुनसरीसम्म पुग्ने गरेको संक्रान्ति उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम पौडेलले बताए ।

‘सरकारले मेसिन दियो तर प्राविधिक दिएन’ उनले भने, “हामी चलाउन जान्दैनौँ, प्राविधिकका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध ग¥यौं, तर कसैले वास्ता गरेन ।”

जिल्ला स्वास्थ्य कार्यालयले यहाँका सबै स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ । तर स्थानीय तह र जनप्रतिनिधिले भने स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य उपकरण व्यवस्थापनमा ध्यान दिएका छैनन् । १३ जनाको दरबन्दी रहेको केन्द्रमा हाल आठजना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् ।

एक डाक्टर, एक स्वास्थ्य सहायक, एक स्टाफ नर्स, तीन अहेब, तीन अनमी, एक ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीे दरबन्दी रहेको केन्द्रमा हाल एक डाक्टर, एक हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स, दुई अहेब, दुई अनमी र एक जना कार्यलय सहयोगी मात्र कार्यरत छन् ।

आठराई क्षेत्रका संक्रान्ति बजार, चुहानडाँडा, छातेढुंगा, थोक्लुङ, इवा, ह्वाकु, सम्दु, इसिबु र खाम्लालुङलगायत गाउँका सर्वसाधारण स्वास्थ्य सेवा लिन सो स्वास्थ्य केन्द्रमा जाने गर्दछन् । यसबाहेक, ताप्लेजुङका निगुरादिन, फूलबारी लगायतका केही गाउँका स्थानीयवासी समेत केन्द्रमा स्वास्थ्य सेवा आइपुग्ने गरेका छन् । तर स्वास्थ्य केन्द्रमा सामान्य एक्स–रे चलाउने प्राविधिक पनि नहुँदा यस क्षेत्रका जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको स्थानीय त्रिमोहन माविका प्रधानाध्यापक चिन्तामणि उप्रेतीले बताए ।

स्वास्थ्य केन्द्रमा शव निरीक्षणका लागि आवश्यक उपकरण र घरसमेत नहुँदा समस्या हुनेगरेको छ । कसैको शव निरीक्षण गर्नुपरेमा एक दिनसम्म बोकेर लैजानुपर्छ, संक्रान्ति बजारका व्यापारी भीम मैनालीले भने, “नाम मात्रको स्वास्थ्य केन्द्र जस्तो भएको छ, हाम्रो संक्रान्तिको स्वास्थ्य केन्द्र ।” स्थानीयवासीले केन्द्रको सेवा व्यवस्थापन र विस्तारमा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रको व्यवस्थापनका लागि आफूले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए । उनले भने, “म पनि यहीँको बासिन्दा हुँ, दुःख मैले राम्ररी बुझेको छु, एक्स–रे मेसिनसहितको सेवा व्यवस्थापनमा मैले पहल गरिरहेको छु ।” निर्वाचित जनप्रतिनिधिले चुनावअघि घोषणापत्रमा गाउँपालिकामा १५ श्ययाको सुविधायुक्त अस्पताल बनाउने घोषणा गरेका भएपनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।