राजनीति

प्रदेशसभा नियमावली सर्वसम्मतले पास

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ ।

मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुुत गरेका थिए ।

पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोलेका थिए । प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुुख प्रदीप भण्डारीले गरे ।

दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बुँदामा संशोधनका लागि संशोधन प्रस्ताव राखेकी थिईन् । उनको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो ।

मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिएका थिए ।

प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुुधवार बस्नेछ ।