अन्तर्राष्ट्रिय

नाइजेरियाली छात्रा विनाशर्त मुक्त – मन्त्री मोहम्मद

अबुजा । नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट गरेका छन् ।

उनीहरु के कसरी मुक्त भए भन्ने बारेमा भएको व्यापक खोजीपछि यहाँका सूचना तथा संस्कृति मन्त्री अल्हाजी मोहम्मदले बिहीबार सो जानकारी दिएका हुन्।

गत महिना बोको हरामको अपहरणमा परेका ११० छात्रामध्ये ७६ जना बुधबार मुक्त भएका सरकारले बुधबार पुष्टि गरेको थियो । नाइजेरियाली उत्तरी सहर दाप्चीबाट अपहरणमा परेका उनीहरुलाई बुधबार सोही नगरमा ल्याइदिएको बताइएको छ ।

सूचना तथा संस्कृतिमन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइका लागि सरकारले केही व्यक्तिको सहयोग लिएको तर उनीहरुको सहयोगमा विनाशर्त मुक्त गरिएको जानकारी दिए ।

समाचारमा उनीहरुलाई बोको हरामले नै पहिलेको स्थानमा ल्याएर छोडिदिएको भनी आएपछि यस विषयमा व्यापक मात्रामा चासो बढेको छ ।

सरकारकै प्रतिनिधिहरुले पनि उनीहरुलाई कुन शर्तमा बोको हरामले मुक्तगरी घरैमा ल्याइदिएका हुन् भनी खोजेका थिए । यसले गर्दा सरकारले स्पष्टिकरण दिनुपरेको हो ।

बुधबार रिहा भएका सबै किशोरी अहिले सुरक्षित तथा आफ्ना घर परिवारसँगै रहेका बताइएको छ ।