पर्यटन/संस्कृति

वैदिक र बुद्ध दर्शनलाई मौलिक सम्पदाको विश्व पहिचान दिनुपर्छ

पूर्णप्रसाद मिश्र /काठमाडौँ । वैदिक र बुद्ध दर्शनलाई नेपालको मौलिक सम्पदाका रूपमा विश्व पहिचान बनाउन सरकारले नै प्रयास गर्नुपर्नेमा विद्वान्हरुले जोड दिएका छन् ।

कुलचन्द्र–जनार्दन संस्कृत अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा पतञ्जलिको योगदर्शन र बुद्धदर्शनबीचका सामाञ्जस्यका विषयमा चर्चा गरियो ।

संस्कृत तथा अंग्रेजी वाङ्मयका विद्वान् तथा युवाचिन्तक दयानिधि गौतमले पतञ्जलिको योगसम्बन्धी अवधारणा र बुद्धको जीवनदर्शनका बीचमा सानातिना अन्तर भेटिए पनि धेरै कुरामा समानता रहेको बताए ।

प्राच्य विश्वास पद्धतिमा रहेको दशावतारको अवधारणा योगका सन्दर्भमा मानव जीवनमा घटित जीवनचक्र भएको उहाँको भनाइ थियो ।

“गर्भ बसेदेखि दुई महिनासम्म माछाका रूपमा, दुईदेखि चार महिनासम्म कूर्म, चारदेखि सात महिनासम्म वराह, जन्म हुँदा नृसिंह, दाँत उम्रिएपछि वामन, दाँत झर्ने समयसम्म परशुराम, १६ वर्षसम्म राम, ३० वर्षसम्म कृष्ण, ३० वर्षभन्दा माथि बुद्ध र मृत्युमा कल्की अवतार प्रत्येक व्यक्तिको जीवनमा हुन्छ”–युवा चिन्तक गौतमले भने ।

बुद्ध र पतञ्जलि दुवैले चार सत्यको कुरालाई जोड दिएको छ । दुवै चिन्तकको ध्यान दुःखका कारणको खोजीमा केन्द्रित भयो । बुद्धले भनेको पञ्चशील (अहिंसा, चोरी नगर्नु, व्यभिचार नगर्नु, झूटो नबोल्नु, मदिरापान नगर्नु) र पतञ्जलिले भनेको अष्टाङ्गयोगको प्रथम अङ्ग यम (अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह) समान अवधारणा रहेकामा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

शील, समाधि र प्रज्ञामा दुवैको ध्यान बढी रहेको चर्चा गर्दै तुलनात्मक रूपमा साधना र प्राणायमको व्याख्या पतञ्जलिले गरेको भए पनि जीवन दर्शनका हिसाबले दुवैले उस्तै विचार राखेको आधुनिक चिन्तकहरुको भनाइ छ ।

प्राच्य जीवनदर्शन र संस्कृतिमा योगको परम्परा बुद्धभन्दा अगाडिदेखि विकास भएको हो । कार्यक्रममा भाषा तथा संस्कृतिका अन्वेषक डा लक्ष्मीप्रसाद खतिवडाले योगको सन्दर्भ ऋग्वेदमै उल्लेख रहेको बताए ।

“ऋग्वेदको प्रथम मण्डलको पाँचौँँ सूक्तको तेस्रो ऋचामा योग शब्द प्रयोग भएको र देवताले पनि योगबल प्रयोग गरून् भनेर अर्चना गरिएको छ, सोही मण्डलको अठारौँ सूक्तको सातौँ ऋचाले योगको साधनाविना यज्ञसम्पन्न गर्न नहुने सन्देश दिएको छ, ऋग्वेदबाट कपिलमुनि, कपिलमुनिबाट बुद्ध र बुद्धबाट पतञ्जलि हुँदै योगको प्रतिपादन परिपक्व भएको हो”– उनले भने ।

अधिवक्ता रवीन्द्र भट्टराईले बुद्ध र पतञ्जलिका दार्शनिक प्रतिपादन व्यष्टिमा व्यक्तिका लागि उपयोगी हुने र समष्टिमा समाजव्यवस्थाकै आधार बनेको बताए ।

बुद्धको पञ्चशील र पतञ्जलिको यम÷नियमको दर्शन कानूनी व्यवस्थाको पनि आधार रहेको उनको विचार थियो । “यमले सामान्यतः फौजदारी न्याय र सुरक्षा प्रणाली, नियमले देवानी न्याय र व्यवहार नियमन गर्छ, यममा संयम राख्ने र नियमअनुसार चल्नेचलाउने नै न्याय र सुरक्षाव्यवस्थाको प्रयोजन हो”–अधिवक्ता भट्टराईले भने ।

मानवशास्त्री रघुनाथ अधिकारीले सामाजिक प्रणालीको विश्लेषण समाज सापेक्ष हुने बताउँदै नेपालमा रहेको युरोपेली मनोवैज्ञानिक उपनिवेशको अन्त्य गर्नका लागि पूर्वीय चिन्तन पुनःजागरणको खाँचो औँल्याए ।