समाचार

इन्जिनियरको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन यही चैत ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले उक्त सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका आधारमा ४५ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए ।

कार्यक्रममा मुलुकको विकासका जल्दाबल्दा समस्या र तिनका समाधानका सम्बन्धमा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिने छ । प्रत्येक दुई वर्षमा गरिने सम्मेलनमा यसपटक राष्ट्रको पूर्वाधार विकास तथा समृद्धिलाई प्राथमिकतामा राएिको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जीवराज पोखरेलले मुलुकको संरचनाअनुसार अब प्राविधिक जनशक्तिलाई पूर्वाधार विकासका साथै जनताको जीवनस्तरको सुधारमा उपयोग गर्ने विषयमा छलफल गरिने बताए । देश तथा विदेशबाट गरी करिब एक हजार इन्जिनियर कार्यक्रममा सहभागी हुने छन् ।

जलवायु परिवर्तन, वातावरण, प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन, ऊर्जा (जलविद्युत्, सौर्य र वायु), शहरी र ग्रामीण विकास, यातायात र परिवहन, खनिज उद्योगलगायतका विषयमा कार्यपत्र प्राप्त भइसकेका छन् ।