समाचार

महिलाको क्षमता अभिवृद्धि गर्न एकजुट हुनुपर्छ : सचेत महिलाहरु

तुलसीपुर, दाङ । महिलाको क्षमता अभिवृद्धि गर्न स्वयं महिला सक्रिय भएर आगाडि बढ्नुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागी महिलाले बताएका छन् ।

राष्ट्रिय समाचार समिति तुलसीपुर दाङको आयोजनामा आइतबार तुलसीपुरमा रही विभिन्न क्षेत्र तथा पेशामा क्रियाशील भई नेतृत्व वर्गमा पुगेका महिलाबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने महिलाले यस्तो बताएका हुन् । महिला आफ्नो हकअधिकार प्राप्तिका लागि स्वयं चनाखो भएर एकताबद्ध हुन जरुरी रहेको उनीहरुको जोड रहेको छ । महिला अहिले पनि महिला भएकै कारण पछाडि पर्ने प्रवृत्ति रहेको र यसको अन्त्य हुनुपर्ने उनीहरुको माग रहेको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य सावित्रा गुरुङले महिलाले नेतृत्व गरेका जुनसुकै क्षेत्र विश्वसनीय र भरपर्दो तरिकाले अगाडि बढेको बताए ।
महिला उद्यमी चन्दा थापा क्षेत्री रिजालले राष्ट्रलाई संमृद्धितर्फ लग्न महिलाको भूमिका महत्वपूर्ण रहेको विचार राखे ।
रासस तुलसीपुर दाङकी प्रमुख नारायणी रजौरेले कुनै पनि कामलाई सानो नभनेर सबैको सहयोग र सहकार्यबाट मात्र अगाडि बढ्न सकिने बताए ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका–६ का वडा सदस्य यमुना परियार, नगरस्तरीय महिला सञ्जालका संयोजक यमुना शाह, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य सपना बस्नेत, पत्रकार महासंघ दाङका सहसचिव शर्मिला डिसी, थारू पत्रकार संघ दाङका कार्यवाहक अध्यक्ष अन्जना चौधरी अम्विकेश्वरी अफसेट प्रेसका सञ्चालक विमला शर्मा, डोल्मा कटाइ सिलाइ प्रशिक्षण केन्द्रका सञ्चालक राधा योगी, तुलसीपुर अनलाइनका यमकला भुसाल, प्रदेश टुडेकी उमा भण्डारीको सहभागिता रहेको थियो ।