उर्जा

अवरोध विद्युत् सञ्चालन

बाजुरा । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किएको तीन दिनपछि सदरमुकामवासीले बत्ती बाल्न पाएका छन् । लगातार तीन दिनदेखि अँध्यारोमा बसेका सदरमुकामवासीले आइतबार बेलुकी ६ बजेबाट बत्ती बाल्न पाएका हुन् ।

बडीमालिका नगरपालिकाले निर्माण गर्न लागेको खानेपानीको ट्यांकी नजिकै रहेको विद्युत्को नरह भत्किएपछि जिल्लावासी मैनबत्तीको भरमा उज्यालो बालेर बस्दै आएका थिए । २०४२ सालमा निर्माण भएको उक्त विद्युत् पटक पटक विद्युत् मेसिनमा खराबी आउने गरेको छ । विद्युत्का लागि बनाइएको नहरसमेत जीर्ण बन्दै गएका कारण ग्राहकले पटक पटक अँध्यारोमा बस्नु परेको साना जलविद्युत् केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डितले स्वीकार गरे ।

विद्युत्को नहर भत्किएपछि पुनः निर्माण कार्य भई आइतबार बेलुकीदेखि बत्ती सञ्चालन गरिएको पण्डितको भनाइ रहेको छ । तीन दिनदेखि विद्युत् नहुँदा जिल्लाका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएका थिए । दैनिक रुपमा सञ्चालन हुँदै आएका सरकारी कार्यालयको आर्थिक कारोबारदेखि प्रशासनिक कार्यमा समेत बाधा पुगेको थियो । लामो समयसम्म विद्युत् नहुँदा सदरमुकाममा बसोबास गर्ने स्थानीय र सञ्चारमाध्यम मारमा परेका थिए । विद्युुत् अवरोधका कारण पत्रपत्रिका, रेडियो, छापाखानालगायत बन्द भएका थिए ।